फागुन, ७ । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाका जनप्रतिनिधिले विभिन्न विकासे योजनाका माग राख्दै प्रधानमन्त्री र मन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला संयोजक असिम राई, सचिब नाम्गेल शेर्पा, गाउँपालिकाका उपाध्यक्ष गौरब राईसहितको टोलीले प्रधानमन्त्री र विभिन्न मन्त्रालयका मन्त्रीलाई भेटी गाउँपालिकाको विकासे योजनाका सन्दर्भमा ध्यानाकर्षण गराइएको कार्यपालिका सदस्य प्रकाश खालिङले जानकारी दिनुभयो ।
उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँरातीलाई गाउँपालिकाको पर्यटन क्षेत्रको विकास र आयोजनाका सन्दर्भमा विभिन्न माग राखेर ध्यानाकर्षण बुझाएका छन् । गाउँपालिकाले अघि बढाएको पर्यटन प्रवर्द्धनात्मक गतिविधिबारे मन्त्री किँरातीलाई जानकारी गराउँदै एभरेष्ट दुधकोशी साँस्कृतिक पदमार्ग र माप्य दुधकोशी हुदै मेरापीक जाने नयाँ बाटोको लागि आवश्यक बजेटको माग पनि गरिएको राईले बताउनुभयो ।
योसँगै जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चारमन्त्री रेखा शर्मालाई पनि भेटेर आफ्ना मागहरु राखेका छन् । भेटमा जनप्रतिनिधिले सल्लेरी–माप्य–खुम्बु हाईवे कालोपत्रेको काम सुरु भएको तर, बजेट नभएपछि पछिल्लो समय काम रोकिएको बारे ध्यानाकर्षण गराएका छन् । त्यस्तै, माप्य दुधकोशी वडा नं १, २, ७ लगायतको क्षेत्रमा देखिएको नेटवर्क समस्या, बजेट अभावका कारण सुस्त बन्दै गएको दिलुङ राप्छा खानेपानी, चिण्डो प्रतिमा, बुद्दपार्क, वाकु–जुभिङ जोड्ने सडक, ठानेखोला खानेपानी, बिभिन्न सिञ्चाईलगायतको बजेट स्रोतबारे र तामा खानी उत्खनन तथा पाइपलाइनमा रहेका दुधकोशीको हाइड्रोका सन्दर्भमा ध्यानाकर्षण गराइएको कार्यपालिका सदस्य राईले बताउनुभयो ।
आफ्ना मागहरुमा प्रधानमन्त्री र मन्त्रीहरु सकारात्मक देखिनुभएकाले यी योजनाका काम अघि बढ्नेमा आफुहरु विश्वस्त रहेको नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला संयोजक असिम राईले बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com