असार, ३१ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामूदायिक विद्यालयहरु मध्येबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मानसहित पुरस्कार प्रदान गरेको छ ।
शनिबार भएको नगरसभाको अवसरमा नगरपालिकाले उत्कृष्ट एक विद्यालय र ३ जना विद्यार्थीलाई नगद तथा सम्मानपत्र सहित पुरस्कार प्रदान गरेको हो । उत्कृष्ट हुने गार्मा माध्यमिक विद्यालयलाई नगद रु.३ लाख रुपियाँ र सम्मान पत्र प्रदान गरिएको छ ।
त्यस्तै, गार्मा माध्यमिक विद्यालयबाट विद्यार्थी फिन्जुङ शेर्पा ३.७२ जिपीए सहित नगर प्रथम भएकाले नगद रु. ५०,०००।– र सम्मानपत्र प्रदान गरिएको छ भने ३.६६ जिपीए सहित दोस्रो हुने चाँगेस्थान माध्यमिक विद्यालयका छात्रा स्वीकृति कार्कीलाई नगद रु.४०,०००।– र सम्मानपत्र र ३.६१ जिपीए सहित तेस्रो हुने टाक्सिन्दु माध्यमिक विद्यालयका छात्र कुन्साङ नुर्बु तमाङलाई नगद रु.३०,०००।– का साथमा सम्मानपत्रले सम्मान गरिएको छ ।
सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले नगरपालिकाको शिक्षाको विकासमा आफू सँधै लागिरहने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख गान्धीमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, सामाजिक विकास समिति संयोजक सोनामग्याल्जेन शेर्पा तथा नगरसभा सदस्यहरुको उपस्थिती रहेको थियो । सोलुदुधकुण्ड नगरपालिकामा १० वटा सामूदायिक विद्यालय रहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com