साउन, ९ । कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष ०८०÷८१ मा प्रहरी मर्यादा विपरित र अवाञ्छित क्रियाकलाप गर्ने एक जना डिएसपी सहित ३ सय १२ जना प्रहरीहरुलाई कारवाही गरेको छ ।
विराटनगर स्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रगति सार्वजनिकिकरण कार्यक्रममा सो जानकारी दिइएको हो । सो कार्यक्रममा आर्थिक वर्ष ०८०÷८१ मा ९ हजार ३ सय ८७ वटा मुद्दा दर्ता भएको र बैकिंग कसुर सम्बन्धी मुद्दा दर्ताको संख्या पछिल्लो वर्ष बढ्दै गएर १ हजार ४ वटा पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले सिटी सफारीका कारण शहर बजारमा देखिएको ट्राफिक अराजकता अन्त्यका लागि कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिएको बताउनु भयो ।
उहाँले सिटी सफारी सेवा भन्दा पनि व्यापार भएकाले यसलाई समयमा नियन्त्रण गर्न नसके ट्राफिक समस्या बन्न सक्ने बताउनु भयो । कोशी प्रदेश प्रहरी कार्यालयले पेण्डिङ मुद्दाको अनुसंधान कार्ययोजना बनाएर अघि बढेको र प्रहरी परिचालनलाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षमा प्रहरीको सवारी साधनमा जिपिएस प्रणाली संचालन गर्ने बताइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com