सिन्धुली । आँफैले बेचेको बुद्धचित्त लुटपाट गरेको आरोप लागेका काभ्रे तेमालका राकेश लामाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका – १ का होमबहादुर सुनुवारको घरबाट बुद्धचित्त लुटेको आरोप राकेशसहित उनका दुई साथीहरुमाथि आरोप लागेको थियो । आरोपितमध्ये राकेशले भने भदौ २ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।
राकेशसहित काभ्रे तेमालकै पुष्पलाल दोङ र दूधराज तामाङले होमबहादुर सुनुवारको घरमा रहेको बुद्धचित वार्षिक ५ लाख रुपैंयाँमा ३ वर्षका लागि १५ लाखमा करार सम्झौता गरेका थिए । उक्त बुद्धचित्तको रुख उनीहरुले नै काठमाडौँ महाबौद्धका माला व्यापारी आर्यन खतिवडालाई ६५ लाखमा बिक्री गरे । तर, बुद्धचित्तको दाना टिप्ने समयमा बेचिसकेको माला गत साउन १ गते राकेश र दूतराज तामाङ आफैंले लुटेको व्यापारी खतिवडाले बताएका छन् । सुरुमा व्यपारी खतिवडाले बुद्धचित्त चोरी भएको भन्दै प्रहरीमा किटानी दिँदा उनको उजुरी लिन प्रहरीले अस्वीकार गरेको थियो । यद्यपि उनले मिडिया गुहारेपछि भने प्रहरीले उजुरी लिएको थियो ।
लुटिएको करिब ५० केजी बुद्धचितको माला ८० लाखमा बिक्री गरिएको दावी पीडित व्यापारी खतिवडाको छ । जाहेरी दर्तापछि सिन्धुली प्रहरीले तीनै जनालाई खोजी गरिरहेको थियो । जसमा राकेशले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । आरोपित दुई जनालाई भने प्रहरीले खोजी गरिरहेको छ ।
लाखौंको बुद्धचित्त माला गुमाउनेलाई नै हैरानी, पीडकले राजनीतिक संरक्षण पाएको पीडितको आरोप
६५ लाख रुपैयाँ तिरेर पाँच वर्षका लागि बुद्धचित्तको रुखको फल खरिद गरेका व्यापारी खतिवडाले फल लुटिएको दिन नै सूचना पाएका थिए । उनले तत्काल आफ्नो लाखौंको फल लुटिएको सूचना प्रहरीलाई तत्कालै दिएका थिए । खतिवडा भन्छन्, ‘लुटेराहरुले केही फल काठमाडौं पुर्याए, केही फल सिन्धुली प्रहरीले बरामद गरेको थियो । लुटिएको फल र लुटेराहरुलाई सप्रमाण भेटाउँदा पनि प्रहरीले उनीहरुविरुद्ध कानुनी कारबाही अघि नबढाई मामिला सामसुम पार्ने प्रयास गरेको थियो ।’
सिन्धुली प्रहरीले मामिलालाई गम्भीरतापूर्वक नलिएपछि पीडितले काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दिए । उनको निवेदनपछि साउन तीनमा कोरियन उपनामले चिनिएका राकेश लामा र अर्का एक सन्तमान लामा पक्राउ परेका थिए । तर उनीहरु साउन चारमा सजिलै छुटे ।
काठमाडौं प्रहरीले सिन्धुलीमा घटना भएको भन्दै आरोपीहरुलाई छाडेपछि पीडित फेरि सिन्धुली नै पुगेर साउन १६ मा जाहेरी दर्ता गराएका थिए । साउन २१ मा आरोपीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अहिले भदौं २ मा राकेश लामाले सिन्धुली प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । बुद्धचित्तको माला लुटपाटको आरोप लागेका मध्ये दूधराज तामाङ र राकेश तामाङ ७० सालमा अहपरण तथा शरिर बन्धक आरोपमा पनि पक्राउ परेका थिए ।
दूधराजलाई सोही वर्ष सार्वजनिक अपराधसम्बन्धी कसूर पनि लागेको थियो । तामाङ नेकपा माओवादी केन्द्रका कार्यकर्तासमेत हुन् । राजनीति पहुँच प्रयोग गरेर यसपटक उनले बुद्धचित्त माला लुटपाट प्रकरणलाई सामसुन पार्ने प्रयत्न गरेको पीडितको दावी छ । लुटपाटको यो प्रकरणमा दूधराज तामाङ र पुष्पलाल दोङ चाहिँ फरार छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com