काठमाडौँ । आसन्न टान निर्वाचनको तयारीमा रहेका सागर पाण्डे समूहका उम्मेदवारहरुले गोर्खाका ट्रेकिङ व्यवसायीहरुसंग छलफल गरेका छन् । बुधबार साँझ ठमेलको यात्री होटलमा गरिएको भेटघाट कार्यक्रममा उम्मेदवारहरुले आफूहरु टानको नीतिगत सुधारका लागि २२ बुँदे एजेण्डा नै बनाएर चुनावमा होमिएको बताएका थिए । झण्डै ४ सय भन्दा बढि व्यवसायीहरु भेला भएको उक्त भेटघाट कार्यक्रममा सागर पाण्डे समूहलाई अपार समर्थन जनाएका छन् ।
मन्तव्यको क्रममा अध्यक्षका उम्मेदवार सागर पाण्डेले आफ्नो टीम जुझारु र व्यवसायीक रहेको बताएका छन् । आफूहरुले सार्वजनिक गरेको २२ बुँदे घोषणापत्र कसैले लेखेर पठाएको वा घोकेर नआएको भन्दै ट्रेकिङ व्यवसायलाई कसरी थप सुदृढ गर्न सकिन्छ भनेर अनुभवका आधारमा तयार पारेको डकुमेन्ट भएको बताए । उनले भने ‘हामीले तयार पारेको घोषणा पत्र अक्षरसः कार्यान्वयन गर्ने हाम्रो प्रतिवद्धता हो । हामी हाम्रो प्रतिवद्धतामा अलिकति पनि कम्प्रोमाइज गर्नेछैनौँ ।’
पाण्डे समूहले २२ बुँदे घोषणा पत्रमा ट्रकिङ व्यवसायीहरुका लागि टान अक्षयकोष निर्माण गर्ने, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहलकदमी गर्ने, ट्रेकिङ कम्पनी मार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने उल्लेख छ । यस्तै, टिम्सको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्ने, कर सम्बन्धी समस्या समाधान गर्ने, पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरि कार्यान्वयन गराउने, पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिने पनि घोषणा पत्रमा जनाइएको छ ।
सागर पाण्डे समूहले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिक रुपमा उठान गरिने उल्लेख गरेको छ भने पर्यटन ऐनलाई समय सापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’ को विकास गरिने र अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गरिने पनि योजना बनाएको छ । नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गर्ने, एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरूसँग सहकार्य गरिने पाण्डे प्यानलको घोषणा पत्रमा उल्लेख छ ।
यस्तै पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गर्ने, पर्यटन सम्बद्ध अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने, पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गर्ने, कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गर्ने देखि पर्यटन बोर्डमा पर्यटन सङ्घ संस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने बताइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com