काठमाडौं ।ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान)को ४६औं वार्षिक साधारण सभासँगै नयाँ नेतृत्व चयनका लागि भोली भदौं १७ गते तदनुसार २ सेप्टेम्बर २०२४ मा हुने निर्वाचन कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउनका लागि निगरानी गर्ने कडा संयन्त्र खडा गरिएको छ । चुनावमा नक्कली कागजातका आधारमा प्रोक्सी मत पर्नसक्ने ज गुनासोलाई ध्यानमा राख्दै यस्तो संयन्त्र निर्माण गरिएको प्रमुख निर्वाचन अधिकृत शिवकुमार अधिकारीले जानकारी दिए ।
उनकाअनुसार दुईटा प्यानल प्रतिस्पर्धामा रहेकोले दुईटै पक्षको प्रतिनिधि राखेर फर्जी कार्य रोक्ने संयन्त्र निर्माण गरिएको हो । यसअघिका निर्वाचनमा विभिन्न रुप र तरिकाबाट फर्जी मत पर्ने गरेको कुरा व्यवसायीहरुले गरेका छन् नि भन्ने प्रश्नको जवाफमा प्रमुख निर्वाचन अधिकृत अधिकारीले त्यस्तो कुनै सम्भावना नरहेको बताए । हामीले दुईटै प्यानलको अध्यक्षका प्रत्यासीहरुसँग छलफल गरी दुबैजनाको हस्ताक्षरसहित आचारसंहिता जारी गरेका छौं’ उनले भने ‘र, हामीले त्यस्तो संयन्त्र निर्माण गरेका छौं, जसले गर्दा प्रोक्सी मत पर्ने कुनै सम्भावना छैन ।’
फर्जी मत परेको खण्डमा प्रचलित कानुनबमोजिम कडा भन्दा कडा कारबाही गरिने जानकारी पनि उनले दिए । टानका अध्यक्ष निलहरी बास्तोलाले प्रोक्सी र फर्जी मत पर्न सक्ने कुनै सम्भावना नरहेको भन्दै निर्वाचन पूर्ण रुपमा मर्यादित हुने विश्वास व्यक्त गरे । ‘त्यस्तो शंका गर्ने साथीहरु कोही हुनुहुन्छ भने त्यसको कुनै सम्भावना छैन’ अध्यक्ष बास्तोलाले भने ‘प्रचलित कानुन र टानको विधानअनुरुप निर्वाचन कार्यक्रम अघि बढाइने छ । त्यसमा विश्वास गर्न म आग्रह गर्दछु ।’
टान सचिवालयले आइतबार मात्रै मतदाताले मतदान गर्न आउँदा ल्याउनुपर्ने कागजातको सूची प्रकाशन गरेको छ । मतदाताका लागि आवश्यक कागजात सम्बन्धमा प्रकाशन गरिएको सूचनाअनुसार सदस्य एजेन्सीको सञ्चालक रहेको पुष्टी हुने कागज (सञ्चालकमा नाम उल्लेख भएको कम्पनी दता प्रमाणपत्र वा पर्यटन उद्योग महाशाखाबाट शेयरधनी खुल्ने कागजात शेयर लागत प्रमाणपत्र वा सदस्य कम्पनीको प्रबन्धपत्र वा नियमावलीमध्यै कुनै १ को सक्कल प्रति वा टानको केन्द्रीय कार्यालयबाट जारी भएको मतादाता परिचयपत्र ल्याउनुपर्ने छ ।
त्यस्तै आफ्नो परिचय खुल्ने नेपाल सरकारबाट जारी भएको फोटोसहितको (नागरिक्ता पत्र, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा राहदानी मध्ये कुनै एक) सक्कल प्रति वा प्रतिलिपी परिचयपत्र लिई आउनुपर्ने छ । सोही सूचनामा मोवाइलमा भएको फोटोलाई सकल प्रति मानिने छैन भन्ने उल्लेख गरिएको छ ।
सोमबार हुने निर्वाचनमा टान नेतृत्वका लागि सागर पाण्डे र राजेन्द्र सापकोटा समूह चुनावी मैदानमा रहेको छ । टान निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार भोलीको निर्वाचनमा भाग लिन पाउने मतदातामो जम्मा संख्या १ हजार ३९७ रहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com