असोज, ८ । सिन्धुपालचोकको लिसंखुपाखर गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँग जनप्रतिनिधिहरुले संवाद गरेका छन् । विद्यार्थीका गुनासा र समस्या सुन्ने र उनीहरुका समस्या सम्बोधनका लागि विद्यालयमा सांसद र स्थानीय सरकारसँग विद्यार्थी साक्षातकार कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको आयोजना लिसंखुपाखर गाउँपालिकाले गरेको हो । जहाँ त्यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सांसद माधव सापकोटा सुबोध, गाउँपालिकाका अध्यक्ष राजु लामासहित पालिका र वडाका जनप्रतिनिधि सहभागिता रहेको थियो । लिसंखुपाखर गाउँपालिका वडा नम्बर ७ स्थित सन्सारीमाई माविमा भएको कार्यक्रममा संसारीमाई मावि र ककलींङ माविका कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले जनप्रतिनिधिसँग आफ्ना समस्याहरु राखेका गाउँपालिका अध्यक्ष राजु लामाले जानकारी दिएका छन् ।
विद्यार्थीहरुले विद्यालयसम्म पुग्न सडकको सहज पहुँचको व्यवस्था मिलाईदिन गाउँपालिकासँग आग्रह गरेका छन् । यस्तै, विद्यार्थीहरुले सांसद सुबोधसँग संसदीय अभ्यासबारे जान्ने इच्छा व्यक्त गरेका छन् । उनीहरुले प्रतिनिधिसभा, राष्ट्रियसभा अवलोकनका लागि पनि सांसद सुबोधसँग आग्रह गरेका छन् ।
निर्वाचित भएपश्चात सांसद सुबोध निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा ’’विद्यालयमा सांसद – संसदमा विद्यार्थी ’’ भन्ने अभियान चलाउँदै आएका छन् । विद्यार्थीसँग अन्तरसंवाद गर्ने र उनीहरुका गुनासा सुन्ने उद्धेश्यले सांसद सुबोध फुर्सदको समयमा निर्वाचन क्षेत्रका विद्यार्थी भेट्न जाने गरेका छन् । हिजो पनि जुगल गाउँपालिका अन्तर्गत रत्न राज्य माध्यमिक विद्यालयमा कक्षा १० र ११ का विद्यार्थी र रामेश्वर माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीसंग अन्तरक्रिया तथा छलफल गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com