असोज, १४ । गत असोज ११ र १२ गतेको अबिरल वर्षाले सिन्धुपाल्चोकको लिसंखुपाखरमा ठूलो जनधनको क्षति गर्यो । ५ जना व्यक्तिको ज्यान गयो भने धेरैका घरहरु पहिरोमा पुरिए । गाउँपालिकाको वडा नम्बर ३ को बाफलमा दुई र ग्रुङम्राङमा पहिरोले घर पुरिँदा स्थानीय काजी बहादुर लामा र उहाँकी श्रीमती, स्थानीय तिर्सना मोक्तान र उनका दुई छोराछोरीको मृत्यु भएको छ ।
बाढि र पहिरोबाट प्रताडित बनेका नागरिकको घाउमा मल्हम लगाउन लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा अहिले निकै नै सक्रिय बनेर खटिरहेका छन् । पहिरोमा बेपत्ता तिर्सना मोक्तान र उनका एक छोरा र एक छोरीको शव काठमाण्डौ ल्याउन अध्यक्ष लामाले विभिन्न व्यक्तिसँग समन्वय गरे । यसको पहल प्रतिनिधिसभा सदस्य सांसद माधव सापकोटा सुबोधले गरेका थिए ।
उनीहरुको शव २ दिनदेखि पहिरो स्थलमै अलपत्र अवस्थामा थियो । उनीहरुको शव शेनाको हेलिकप्टर मार्फत उद्धार गरि आज काठमाण्डौ ल्याइएको र पोष्टमार्टम पछि शव आफन्तलाई जिम्मा लागाइएको छ ।
यस्तै, वाफलमा पहिरोले पुरिएर मृत्यु भएका काजी बहादुर लामा र उहाँकी श्रीमती दुवै जनाको शव पोष्टमार्टम कुरेर ३ दिनदेखि गाउँमै रहेको थियो । वडासम्म पुग्ने सडकसञ्जाल अबरुद्ध भएका कारण उद्धार हुन सकेको थिए । गाउँपालिकादेखि वडासम्म जाने बाटो मर्मत पश्चात जिल्ला अस्पतालबाट डक्टर झिकाएर काजी बहादुर र उनको श्रीमतीको पनि स्थानीय स्वास्थ्य चौकीमा पोष्टमार्टम गरि दाहसंस्कारका लागि परिवारलाई जिम्मा दिईएको छ ।
यस्तै, अध्यक्ष लामाले गाउँपालिकाका विभिन्न स्थानहरुमा अबरुद्ध सडकसञ्जालहरु खुलाउने र राहत तथा उद्धारका लागि पहल गरिरहेका छन् । मृतक काजीबहादुर र तिर्सना मोक्तानको घर सहित भोक्ति टोलका २ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । उनीहरु छिमेकीको घरमा बसिरहेका छन् । यस्तै, ल्हाटोलमा नमिता लामाको घरमा पूर्ण रुपमा क्षति पुगेको छ । दुई वटा पशुचौपाय समेत पहिरोमा परि मरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com