काठमाडौँ । हुन त असिम राईको सोलु–काठमाडौँ सडक यात्रा दिनमा विरलै हुन्छ । दिनै मायाँ मारेर यात्रा गर्नु पर्ने अत्यासलाग्दो सडक दुरीका कारण उनी अक्सर रातको समय उपयोग गर्छन् । थुलुङदुधकोशी गाउँपालिकाको अध्यक्षको भारी बोकेका असिम बेफुर्सदी छन् । साँझसम्म गाउँपालिका र जिल्लामै व्यस्त हुने अध्यक्ष राई भोलीपल्ट विहान काठमाडौँ टेकिसकेका हुन्छन् । समय बचतकै लागि अक्सर रातीको समयमा यात्रा गर्छन् ।
प्रसंग दुधकोशी नदीमाथि राखिएको दिप्लीघाटको बेलिब्रिज बगाए पछिको हो । शनिबारसम्म माओवादी पार्टीको बैठकमा सदरमुकाम सल्लेरीमा व्यस्त रहेका उनी आइतबार प्रमुख जिल्ला अधिकारी, डीएसपी, नेपाली सेनाको गुल्मपति, प्राविधिकहरु लिएर दिप्लीघाट पुगे । अवस्थाको निरिक्षण गरे । अरु एक दुई वटा बैठकहरुमा सहभागी भए । पुल निर्माणका लागि आवश्यक अन्य पूर्व तयारीबारे जानकारी लिएर राती दुई बजे काठमाडौँका लागि गाडी चढे । उज्लायो हुँदा काठमाडौँ टेके ।
भत्कीएको पुलको भाग अध्यक्ष राईको गाउँपालिका वडा नम्बर ८ मा पर्छ । दुधकोशी पारीका दुई गाउँपालिकाका जनता सम्पूर्ण रुपमा सम्पन्ध विच्छेदको अवस्थामा पुगेपछि चिन्तित बनेका राई सोलुमै रात विताउन पनि सकेनन् । र प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गरी घटनाबारे ध्यानाकर्षणका लागि पहल लिए । गाउँपालिका अध्यक्ष र प्रधानमन्त्रीको राजनीतिक दल एउटै भएकाले पनि प्रधानमन्त्रीसंग भेट गर्न अध्यक्ष राईलाई तुलनात्मक रुपमा सहज थियो । प्रधानमन्त्री दाहालले व्यस्त समयका वावजुद सोमबार साँझ सिंहदरवारको अन्तिम मिटिङ सोलुखुम्बुका जनप्रतिनिधिसंग गरे ।
अध्यक्ष राईसंगै सोताङ गाउँपालिकाका अध्यक्ष खिलाराज बस्नेत, महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङ, थुलुङदुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्की र थुलुङदुधकोशी गाउँपालिकाकै समाजसेवी बलराम गुरुङसहितको समूह सिंहदरवार पुगेका थिए ।
दिप्लीघाटको पुल बाढिले पुर्याएको क्षतिका बारेमा अध्यक्ष असिम राईले प्रधानमन्त्रीलाई जानकारी गराए । उनले तत्काल पुन निर्माण प्रक्रिया अघि बढाउन केन्द्र सरकारले पहल लिनु पर्ने आवश्यकता औँल्याए । करिव १० मिनेट सोलुखुम्बुका लागि दिएका प्रधानमन्त्री प्रचण्डले असिम राईको व्रिफिङ सुनेपछि भनेका थिए, ‘बेलिब्रिज बनाउन नेपाली सेना दक्ष छ । यस अघि सिन्धुपाल्चोकमा पनि सेनाले एक हप्तामै पुल बनाएको रेकर्ड छ । मन्त्रालयको साधन श्रोतले ढिलो हुने भयो भने सेना नै प्रयोग गर्न पनि सकिन्छ ।’ त्यसपछि बैठकस्थलबाटै प्रधानमन्त्रीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालालई फोन मार्फत दिप्लीघाट पुल निर्माणमा पूर्ण रुपमा गम्भीर हुन र तत्काल एक्शनमा जान निर्देशन दिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com