सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुुको महासमिति सदस्यहरु निर्विरोध चयन भएका छन् । निर्वाचन प्रक्रियामा ११ जनाको मात्रै नाम दर्ता भएपछि उनीहरु निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले जनाएको छ । पार्टी सभापति नाम्गेलजाङबु शेर्पाका अनुसार आवश्यक संख्या भन्दा बढि उम्मदवारी नपरेपछि प्रक्रिया अनुसार नै निर्विरोध निर्वाचित भएको व्यहोरा पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको छ ।
महासमिति सदस्यहरुमा प्रत्यक्षतर्फ प्रभुराम बस्नेत, जिल्ला सभापति समेत रहेका नाम्गेलजाङबु शेर्पा, नविन थापा, मनोज खड्का र अशोक झा गरि ५ जना रहेका छन् । यस्तै प्रत्यक्ष महिला तर्फ गान्धीमाया तामाङ र गीता गुरुङ निर्वाचित भएकी छिन् । यस्तै खस आर्यतर्फ प्रकाशकुमार बस्नेत, जनजातितर्फ नातीकाजी गुरुङ र जनजाति महिलातर्फबाट फूर्किमा शेर्पा निर्वाचित भए ।
निर्वाचन अधिकृत महाप्रसाद फुयालद्धारा हस्ताक्षरित विज्ञप्तीमा माघ १९ गते प्रकाशित अन्तिम उम्मेदवारहरुको सुची अनुसार नवनिर्वाचित महासमिति सदस्यहरुको नामावली सार्वजनिक गरिएको हो । सोही बमोजिमको व्यहोरासहित ६७ पृष्ठको प्रतिवेदन जिल्ला निर्वाचन समितिले नेपाली काँग्रेस जिल्ला कार्यसमितिलाई बुझाएको छ । र पार्टी जिल्ला कार्य समितिले सो प्रतिवेदन पार्टीको केन्द्रीय निर्वाचन समिति र केन्द्रीय कार्यसमितिमा पनि पठाइएको निर्वाचन अधिकृत महाप्रसाद फुयालले बताए ।
पार्टीको विधान अनुसार यस अघिको विनोद बस्नेत सभापति रहेको कार्यसमितिले नै निर्वाचन टुंग्याएर महासमिति सदस्यहरु चयन गर्नु पर्ने थियो । तर त्यसबेलादेखि रिक्त रहेको महासमिति सदस्यहरुलाई हालका पार्टी सभापति शेर्पाले पूर्णता दिएका हुन् ।
महासमिति सदस्यहरु चयनका सन्दर्भमा सभापति शेर्पाले पहल लिइरहेका थिए । लामो समयको अनिर्णयको बन्दी अवस्थालाई तोड्दै सभापति शेर्पाले दुवै पक्षका नेताहरुलाई समेटेर महासमिति सदस्य चयन भएको जनाएका छन् । जिल्ला सभापति शेर्पाले लामो समयसम्म महासमिति सदस्यहरु छनौट गर्न नसक्दा गलत सन्देश गइरहेको भन्दै आफूले अग्रसरता लिएर निकास दिएको बताएका छन् । तथापी जिल्ला निर्वाचन समितिबाट निर्विरोध निर्वाचित भएको उक्त सुचीमा कसैको विरोध वा असन्तुष्टि नरहने उनको भनाई छ । हामीले सबै पक्षलाई न्याय हुने गरि महासमिति सदस्यहरु चयन गरिएका हौँ ।
महासमिति सदस्यहरु माघ २० गते भित्र टुंग्याउन भन्दै केन्द्रीय कार्यालयबाट जिल्ला समितिहरुलाई अन्तिम निर्देशन गएको थियो । तोकिएको समयसीमा नाघेर पठाएको कुनै पनि नाम बैध नहुने पार्टी कार्यालयको पत्रमा लेखिएको थियो । तोकिएकै समयभित्र सोलुखुम्बुबाट महासमिति सदस्यहरुको नामावली पठाउन सफल भएको निर्वाचन अधिकृत फुयालले बताएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com