असोज, १४ । काठमाडौँ उपत्यकाको उत्तरपश्चिममा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र सुरम्य वातावरणमा रहेको महत्वपूर्ण तीर्थस्थलका रुपमा तारकेश्वर मन्दिर रहेको छ । ऐतिहासिक पाँचमाने र जितपुरफेदीबाट अल्ले ब्यारेक हुँदै पुग्न सकिने तारकेश्वर महादेव मन्दिरमा शिवरात्री, जनै पूर्णिमा र नयाँ वर्षको दिन ठूलो मेला लाग्दछ । प्राकृतिक सौन्दर्यको खानी समेत मानिने शिवपुरी पर्वतमालाको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दू धर्मावलम्वीहरुको महत्वपूर्ण तीर्थ हो ।
स्कन्दपुराणको केदार खण्डको माघमहात्म्य श्री स्वस्थानी व्रतकथामा वर्णन भए अनुसार सतीदेवीको दाहिने तिघ्रो पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहे भन्ने उल्लेख छ । तारकेश्वर महादेव मन्दिर पहरामा रहेको छ । तारकेश्वर महादेव मन्दिर नजिकै झरना, गुफा, पोखरी, पाटी पनि रहेका छन् । नववर्ष, एकादशी, शिवरात्रि, जनैपूर्णिमा जस्ता तिथि वा चाडपर्वमा टाढाटाढाबाट भक्तजनहरु यहाँ पूजाआजा गर्न र मेला भर्न आउने गर्दछन् ।
धार्मिक कथा अनुसार देव र दानवको युद्धमा कार्तिकेयलाई भाला चलाउने अधिकारमात्र दिइएको थियो तर उनकी श्रीमती भल्लिमाला र देवसेनालाई बाण, ब्रह्मास्त्र, वायव्यास्त्र, अग्न्यास्त्र चलाउने अधिकार प्राप्त थियो । दानवसँग युद्ध गर्न जाँदा अघोर स्वरुपमा म तारकेश्वरमा रहन्छु भनी स्वयम् शिवजीले देवसेना र अन्य सेनालाई भन्नु भएको थियो । त्यसैले युद्धभूमिमा जान सिद्धि प्राप्त गर्नुपर्ने तथा हातहतियार आवश्यक परेकोले सो प्राप्त गर्न सबै देवगण तारकेश्वर पुगेका थिए । त्यसपछि देवगणले महादेवको प्रार्थना गरी उक्त हतियार र सिद्धि प्राप्त गरेका थिए ।
मनको इच्छा पूरा गर्न वा केही सामग्री माग्न तारकेश्वर मन्दिरमा गएर प्रार्थना गर्ने प्रचलन भएको कुरा कविन्द्र प्रताप मल्लको हनुमानढोकास्थित शिलालेखमा पनि उल्लेख छ । जुन कुरालाई शिलाभी सारमा समेत उल्लेख गरिएको छ । त्यसैले, हिजोआज मानिसहरु आफ्नो मनोकाब्क्षा पूरा होस् भनेर तारकेश्वर महादेव मन्दिरमा पूजाआजा गर्न जाने गर्दछन् । पहरामा रहेका तारकेश्वर महादेवको पूजा अर्चना गर्न थुप्रै भक्तजन जाने गर्दछन् । उक्तस्थानमा तपश्वी कालीबाबा बस्दै आएकोमा विक्रम सम्वत् २०५६ माघमा कालीबाबाको मृत्यु भएपछि उनको समाधि गरिएको ठाउँमा शिवलिङ्ग निर्माण गरिएको छ । कालीबाबाको कुटी पनि २०७२ साल बैशाख १२ र २९ को विनासकारी भूकम्पले भत्किएकोमा तारकेश्वर नगरपालिकाले तारकेश्वर धामको बृहत् गुरुयोजना तयार गरी संरक्षण, सम्वद्र्धन र निर्माण कार्य गरिरहेको छ ।
सार्वजनिक विदा तथा अन्य दिनहरुमा पनि मन्दिर दर्शन र घुमफिर गर्न मानिसहरु तारकेश्वर जाने क्रम बढ्दो छ । मन्दिर वरपर विभिन्न प्रकारका चराचुरुङ्गी, फूल, पुतलीको अवलोकन गर्न सकिन्छ । मन्दिर पुग्न ठाउँठाउँमा छिँडीको व्यवस्था गरिएको छ । मन्दिरको काखमा रहेको पोखरीले यहाँको सौन्दर्यलाई झन आकर्षक बनाएको छ । झरना, हरियाली वातावरणका कारण यो स्थानलाई स्वर्गको एकटुक्राका रुपमा नै लिन सकिन्छ । तारकेश्वर महादेव मन्दिरको शिरोभागमा अर्थात् तारकेश्वरबाट करिब १ घण्टा उकालो चढेर द्यौलेश्वर महादेवको शिवलिब्ग स्थलमा पुग्न सकिन्छ । जहाँबाट उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com