काठमाण्डौ, साउन ९ । आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशतले बढ्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने देखाएको हो । सर्वेक्षण अनुसार आागमी तीन महिना १४ प्रतिशतले मूल्य बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै आगामी एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति १३ दशमलव ५ प्रतिशत हुने अनुमान गरिएको छ ।
सर्वेक्षण अनुसार उपभोक्ताले अहिलेको मुद्रास्फीति पनि १४ प्रतिशत रहेको महसुस गरेका छन् । सर्वेक्षणमा सहागीहरुले निकट अवधिमा मुद्रास्फीति अहिलेकै अनुपातमा रहने र केही अवधिपछि भने घट्ने अपेक्षा गरेका छन् ।
सर्वेक्षणमा सहभागीहरुलमध्ये ९४ दशमलव ७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन् । जसमध्ये २७.४ प्रतिशतले आगामी तीन महिना मूल्यवृद्धि अहिलेको भन्दा उच्च हुने बताएका छन् । त्यस्तै ४२.३ प्रतिशतले अहिलेको दरमा मूल्यवृद्धि हुने अपेक्षा गर्दा २४.९ प्रतिशतले मात्रै अहिलेको भन्दा मूल्यवृद्धि कम हुने बताएका छन् ।
यस्तै ९४.४ प्रतिशतले आगामी एक वर्षसम्म नै मूल्य बढ्ने बताएका छन् । जसमा ३३.१ प्रतिशतले अहिलेको भन्दा उच्च, ४१.७ प्रतिशतले अहिलेकै हाराहारी र १९.५ प्रतिशतले मूल्यवृद्धि १ वर्षपछि घट्ने अपेक्षा गरेका छन् । राष्ट्र बैंकले जेठ २०७९ को वार्षिक उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो । तर, राष्ट्र बैंककै सर्वेक्षणले भने असारमा उपभोक्ताले १४ प्रतिशतले मूल्यवृद्धि भएको महसुस गरेको उल्लेख छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com