कार्तिक ३०। विभिन्न पेशा, व्यवयासय गरेर अस्थायी रुपमा काठमाडौं उपत्यकामा बस्दै आएका सिन्धुपाल्चोक क्षेत्र नं १ का मतदाताले लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन जिल्ला फर्कने विश्वास दिलाएका छन् ।
सिन्धुपाल्चोकमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाई जिविकोपार्जन गरिरहेका मतदाताहरुले मंसिर ४ गते हुने चुनावमा आफूहरु जिल्ला फर्केर गठबन्धनका उम्मेदवारहरुलाई जिताउने विषयमा ढुक्क रहन आग्रह गरेका हुन । संघीय राजधानी काठमाडौंमा बस्दा गठबन्धनको आवश्यकता र औचित्यबारे अझ स्पष्ट बुझ्ने मौका मिलेको भन्दै बेलैमा जिल्ला फर्केर आफ्ना परिवार, छरछिमेक र इष्टमित्रलाई समेत यसबारे बताउने उनीहरुको प्रतिवद्धता थियो ।
मंसिर ४ गते हुने चुनावलाई लक्षित गरेर मंगलबार र बुधबार आयोजना गरिएका छुट्टा छुट्टै छलफल तथा अन्तरक्रियामा सहभागिहरुले आफूहरुलाई सम्झेकोमा उम्मेदवारहरुलाई धन्यवाद दिए । मंगलबार र बुधबार भक्तपुरका फरक फरक स्थानमा भएका कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध, क्षेत्र नं १ को १ का उम्मेदवार मसिना खड्का भण्डारी, क्षेत्र नं २ को २ का उम्मेदवार सरल सहयात्री पौडेल सहभागी थिए । दुबै कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका मतदाताले उम्मेदवारहरुलाई जितको चिन्ता नगरि निश्चिन्त भएर भावि योजना निर्माणमा लाग्न सुझाव दिए । उम्मेदवारहरुलाई हौसला प्रदान गर्दै जितको शुभकामना दिए । गठबन्धनले युवा र महिला उम्मेदवार बनाएकोमा मतदाताले खुसी व्यक्त गरेका थिए ।
सिन्धुपाल्चोक क्षेत्र नं १ अन्तर्गतका प्रदेश १ को मंगलबार भक्तपुरको राधेराधेमा र बुधबार क्षेत्र नं १ प्रदेश २ को गठ्ठाघरमा भएको छुट्टा–छुट्टै कार्यक्रममा ठूलो संख्यामा गठबन्धन आवद्ध र स्वतन्त्र मतदाताको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोधले पार्टी भन्दा राष्ट्र ठूलो भएकोले राष्ट्रिय हितको लागि गठबन्धन बनेको बताए । उनले यो गठबन्धन १०–१५ वर्षसम्म जाने सम्भावना रहेको जानकारी दिए । मसिना खड्का भण्डारी र सरल सहयात्री पौडेलले पनि मतदातालाई आफ्ना प्रतिवद्धता सुनाएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com